राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखाको ६१ औँ वार्षिकोत्सव सम्पन्न
मातृभूमी संवाददाता । १० माघ, दैलेख
राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखाले ६१ औँ वार्षिक उत्सव तथा व्यवसायी सम्मान कार्यक्रम गरेको छ । बैंकले दैलेख सदरमुकाम स्थित योग भवनमा वार्षिक उत्सव तथा व्यवसायी सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकिङ क्षेत्रको आधार नै पारदर्शिता, जवाफदेहिता र वित्तिय अनुशासन भएको दैलेख जिल्ला न्यायधिस कुलप्रसाद पाण्डेले बताए । न्यायधिस पाण्डेले वित्तिय अनुशासनको परिधिमा रही सेवा प्रवाह गर्न सके मात्र बैंकिङ प्रणाली प्रति आमनागरिकको विश्वास थप सुदृढ हुने वताए ।
बैंकले वित्तिय अनुशासनलाई प्राथमिकतामा राख्दै सेवाग्राही मैत्री सेवा प्रवाह गर्दै आएको राष्ट्रिय बाणिज्य बैंक दैलेख शाखाका प्रवन्धक कृष्णप्रसाद उपाध्यायले बताए । बैंक र व्यवसायीबीचको आपसी विश्वासलाई अझ बलियो बनाउनुका साथै दैलेख जिल्लाको आर्थिक गतिविधिमा सकारात्मक ऊर्जा थप्ने शाखा प्रबन्धक उपाध्यायको भनाई छ । राष्ट्रिय बाणिज्य बैंकका शाखा मध्ये दैलेख शाखा उत्कृष्ट शाखाका रूपमा स्थापित हुँदै आएको समेत शाखा प्रवन्धक उपाध्यायले जानकारी दिए ।
वार्षिक उत्सवको अवसरमा बैंकले विभिन्न लोक कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आएको उनको भनाई छ । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शुभेच्छुक प्रति आभार व्यक्त गरे । कार्यक्रमका अधिकांस सहभागीहरुले राष्ट्रिय बाणिज्य बैंक दैलेख शाखाले जिल्लामा सहज, सरल र भरोसा योग्य सेवा प्रदान गर्दै सेवाग्राहीको मन जित्न सफल भएको बताएका थिए । सेवाग्राही तथा जिल्ला स्थित सम्पूर्ण निकायको विश्वास, सहयोग र सद्भाबका कारण शाखा निरन्तर अघि बढिरहेको उनीहरूको भनाई थियो । कार्यक्रममा जिल्ला न्यायधिस पाण्डे सहित, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र थापा, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनार, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, बैंकर तथा जिल्लाका प्रतिष्ठित व्यवसायीहरूको सहभागीता रहेको थियो । बार्षिक उत्सब कार्यक्रममा जिल्लाका व्यवसायीलाइ सम्मान समेत गरिएकाे थियाे ।

