दैलेखमा हिउँदे बर्षा हुँदा किसानलाई राहत

मातृभूमी संवाददाता । १० माघ, दैलेख
लामो समय पछि परेको हिउँदे बर्षाले दैलेखका किसानलाई राहत भएको छ । समयमा पानी नपर्दा हिउँदे बाली सुक्न थालेको भन्दै चिन्तित बनेका किसानलाई हिउँदे बर्षाले राहत भएको हो । दैलेखका अधिकांस किसान आकाशे पानीको भरमा खेती किसानी गर्ने गर्दछन् । हिउँदको समयमा दैलेखमा गहुँ, जौ, तोरी, मसुरो, चना लगायतका खेती गर्ने गरिन्छ ।
दैलेखमा बाह्रै महिना सिंचाई योग्य जमिन करिव ३४ प्रतिशतमात्र रहेको छ । अन्य क्षेत्रमा आकासे पानीको भरमा खेती गर्नुपर्ने किसानको बाध्यता रहको छ । लामो समय पछि परेको पानीले गहुँ लगायत हिउँदे खेतीलाई राहत भएको नारायण नगरपालिका २ का वडाध्यक्ष एवं अगुवा किसान रेशमबहादुर थापाले बताए ।
यस्तै किसानले खेतबारीमा लगाएका गहुँ, जौ, केराउ, मसुरो, चना तथा तेलहन बालीलाई हिउँदे वर्षाले फाईदा हुने डुङ्गेश्वर गाउँपालिका २ का किसान इन्द्र बहादुर बिष्टले बताए । उनले आकासे पानीबाट खेतबारीमा लगाइएको गहुँमा सिंचाई भएपछि उत्पादनमा केहि सुधार हुने बताए ।
दैलेखमा १३ हजार ७ सय ३१ हेक्टर जमिनमा कृषकहरूले हिउँदे बाली लगाउँदै आएको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डेले बताए । हिउँदे बाली अर्न्तगत गहुँ १३ हजार १ सय ७५, मसुरो ३ सय २०, चना २ सय ३६ हेक्टर जमिनमा लगाउने गरिएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए । उनका अनुसार जिल्लामा बाह्रै महिना सिंचाई योग्य जमिन ३४ प्रतिशत मात्र रहेको छ । गत वर्षको तुलनामा यस वर्ष हिउँदे बर्षा ढिलो गरी भएकाले करिब १८ प्रतिशत हिउँदे बाली कम उत्पादन हुने आँकडा गरिएको कार्यालय प्रमुख पाण्डेको भनाई छ । उनले किसानलाई उत्साह थप्नका लागि कृषि विकास कार्यालय दैलेखले विभिन्न किसानमुखी कार्यक्रमहरू संचालन गर्ने वताए ।
सिंचाईका लागि विभिन्न पालिकाहरुमा साना सिंचाई योजनाहरुको सम्झौता भएर काम भैरहेको बताउँदै कार्यालय प्रमुख पाण्डेले किसानहरूको हकहितका लागि कार्यालयले काम अघि बढाउने बताए । किसानले अर्गानिक उत्पादनमा विषेश ध्यान दिनुपर्ने कार्यालय प्रमुख पाण्डेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *