हतियार बुझाउन दैलेख प्रशासनको आग्रह

मातृभूमी संवाददाता । ११ माघ, दैलेख
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै आफुसँग भएका हातहतियार वुझाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले एक सूचना जारी गर्दै यहि माघ २० गते भित्र आफुसँग भएका हातहतियार बुझाउन आग्रह गरेको हो । जिल्लामा रहेका अवैध र लाईसेन्स प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले वताए ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्न हातहतियार बुझाउन भनिएको प्रमुख जिल्ला अधिकारी सारुले जानकारी दिए । तोकिएको समयमा हातहतियार तथा खरखजाना नबुझाएमा प्रचलित कानुन बमोजिम करबाही हुने प्रमुख जिल्ला अधिकारी सारुको भनाई छ । उनले इजाजत पाएका र इजाजत बिना अवैध रूपमा राखिएका हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने बताए ।
दैलेख जिल्लामा निर्वाचन हुने विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन लगाईएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बहादुर बरालले वताए । इजाजतपत्र लिएका हातहतियार तथा खरखजाना तोकिएको समयावधि भित्र बुझाएमा निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने डिएसपी बरालले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *