बँदेलको आक्रमणबाट दैलेखमा एक जनाको मृत्यु, दुई जना घाईते
मातृभूमी संवाददाता । १२ माघ दैलेख
दैलेखमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । दैलेखको भैरबी गाउँपालिका ५ गडीगाउँ निवासी ७८ वर्षीय प्रदीप सिंहको बँदेलको आक्रमणवाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
भैरबी गाउँपालिका ६ कुटी नजिक घाम तापेर बसिरहेका बेला रातामाटे सल्लेरी वन क्षेत्रबाट आएको बँदेलले आक्रमण गर्दा गुप्ताङ्गमा कोपरेर गम्भीर घाइते बनाएको र अत्यधिक रक्तस्रावका कारण घटना स्थलमै सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेश बहादुर बरालले जानकारी दिए ।
सोमबार दिउँसो भैरबी गाउँपालिका ६ कुर्माकोटमा बारीमा काम गरिरहेका २२ वर्षीय निकेश सिंजाली र ३४ वर्षीय दिपक सिंजालीलाई पनि बँदेलले आक्रमण गरी घाइते बनाएको डीएसपी बरालले बताए ।
बँदेलको आक्रमणबाट निकेशको खुट्टा र दिपकको पेटमा गम्भीर चोट लागेको छ । घाइते दुवै जनाको दैलेख अस्पतालमा उपचार भैरहेको दैलेखका अस्पतालका प्रमुख डा. मनोज विश्वकर्माले जानकारी दिए । दिपकको पेटमा आन्द्रा समेतमा क्षति पुगेकाले अवस्था गम्भीर रहेको प्रमुख डा. विश्वकर्माले जानकारी दिए ।

