निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन
मातृभूमी संवाददाता । १४ माघ दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गाउँपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारी र शिक्षकहरूलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्वाचन अवधिभर कुनै पनि कर्मचारी, शिक्षक वा पदाधिकारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न नपाउने जनाएको छ ।
सामाजिक सञ्जाल मार्फत समर्थन वा विरोधमा लेख्ने, पोस्ट गर्ने, शेयर, कमेन्ट वा ‘लाइक’ गर्ने कार्यसमेत निषेध गरिएको डुङ्गेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीशंकर राना मगरले जानकारी दिए ।
उनका अनुसार निर्वाचन अवधिमा राजनीतिक दल वा उम्मेदवारले आयोजना गर्ने सभा, बैठक तथा अन्तर्क्रियामा सहभागी हुन पाइने छैन । साथै योजना शिलान्यास, उद्घाटन, अनुदान वितरण लगायतका कार्यक्रम पनि रोक लगाइएको छ ।
सरकारी भवन, सवारी साधन तथा स्रोत–साधन राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न नपाइने जनाइएको छ । आचारसंहिता उल्लंघन गरे कानुन अनुसार कारबाही हुने र अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने चेतावनी दिइएको छ ।

