दैलेखको माथल्लिो डुङ्गेश्वर–दुल्लु सडक कालोपत्रे तीव्र
जित बहादुर थापा (रोशन) १५ माघ दैलेख
दैलेखको माथिल्लो डुङ्गेश्वर बजारदेखि दुल्लु–बेउली हुँदै कालिकोट जोड्ने सडक खण्डमा हाल तीव्र गतिमा कालोपत्रे कार्य भइरहेको छ । लामो समयदेखि प्रभावित रहेको सडक निर्माण कार्य तोकिएको समयावधिभित्र सम्पन्न गर्ने लक्ष्य सहित अघि बढाइएको हो । माथिल्लो डुङ्गेश्वर बजारदेखि दुल्लु नगरपालिका १२ दहगाउँसम्मको ६ किलोमिटर सडक खण्डमध्ये दैनिक करिब १ सय मिटर कालोपत्रे भइरहेको पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख प्रवीण कार्कीले जानकारी दिए । उनका अनुसार सडक कालोपत्रेका लागि मोतिदान लालसुभ मेन्द्रो जेभी, हेटौंडासँग १५ करोड ५८ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो ।
आर्थिक वर्ष २०७८ साउनदेखि सुरु भएको उक्त आयोजनालाई आर्थिक वर्ष २०८२ माघ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको प्रमुख कार्कीले बताए । मौसमले साथ दिएमा निर्माण कार्यले अझ गति लिने र समयमै सम्पन्न हुने अपेक्षा गरिएको उनले उल्लेख गरे ।
जेभी पार्टनरबाट सुरुमा केही ढिलाइ भए पनि अहिले भने तोकिएको समयमै काम सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको निर्माण व्यवसायी पक्षका इन्जिनियर सुदर्शन थापाले जानकारी दिए । वर्षाले असर नगरेमा निर्धारित समयमै कालोपत्रे कार्य सम्पन्न हुने उनको भनाइ छ ।
यसैबीच, पूर्वाधार विकास कार्यालय दैलेखले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर करिब १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर नविन आचार्यका अनुसार चालु आर्थिक वर्षमा करिब ३९ करोड ८५ लाख रुपैयाँ बराबरको टेन्डर निकालेर काम सुरु भइसकेको छ ।

