दैलेखमा एक महिना लामो बर्षेमेला सुरु

मातृभूमी संवाददाता । २६ श्रावण दैलेख
दैलेखमा आजदेखि एक महिना लामो परम्परागत बर्षेमेला सुरु भएको छ । स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको यो मेला गाँठे मंगलका दिनदेखि सुरु भई श्रीकृष्ण जन्माष्टमीका दिन लाखेको बध गरेपछि सम्पन्न हुने गर्दछ ।
बर्षेमेलालाई दैलेखको मौलिक धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिइन्छ । मेला अवधिभर जिल्लाका विभिन्न स्थानमा धार्मिक तथा सांस्कृतिक गतिविधि हुने भएकाले स्थानीयवासी तथा बाहिरी क्षेत्रबाट आउने श्रद्धालु र दर्शकको चहलपहल बढ्ने गर्दछ ।
विशेषगरी गाँठे मंगलका दिनदेखि जन्माष्टमीसम्म विभिन्न दिनमा परम्परागत जात्रा, धार्मिक गतिविधि तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने गर्छन् । यस अवधिमा आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, मेला भर्न जाने र स्थानीय संस्कृति तथा परम्पराको अवलोकन गर्ने चलन समेत रहेको छ ।
बर्षेमेलाले दैलेखको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयको भनाइ छ । लामो समयसम्म चल्ने भएकाले यस मेलाले स्थानीय व्यापार–व्यवसाय तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
गाँठे मंगलदेखि सुरु भएको बर्खेमेला श्रीकृष्ण जन्माष्टमीका दिन विशेष धार्मिक तथा सांस्कृतिक गतिविधि सहित समापन हुन्छ । यो बर्षे मेला कुल २६ दिनसम्म चल्ने न्यु ज्वाला क्लब दैलेखका अध्यक्ष बिशाल सुनारले बताए । श्रावण २६ गतेबाट भाद्र १९ गते सम्म लाखे नियमित नचाउने, भाद्र १२ गते जनै पूर्णिमा (बुढिगाई) टाकटुके, १३ गते गाईजात्रा, १४ गते रोपाई जात्रा, १५ गते बाघ जात्रा, १६ गते राउटे जात्रा, १७ गते वैरागी (जोगी) जात्रा, भाद्र १९ गते जन्माष्ठमी र दोस्रो दिन बर्षेमेला समापन हुने अध्यक्ष सुनारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *