दुल्लुमा ‘स्वस्थ मन, स्वस्थ जीवन’ अभियान संचालन
मातृभूमी संवाददाता । २६ श्रावण दैलेख
दैलेखको दुल्लु नगरपालिकाले श्रावण महिनालाई मानसिक स्वास्थ्य सचेतना महिनाका रूपमा मनाउने क्रममा विद्यालयस्तरीय मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सुरु गरेको छ । अभियान अर्न्तगत दुल्लु नगरपालिका ७ किर्तिखम्बमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ‘स्वस्थ मन, स्वस्थ जीवन’ भन्ने नारा सहित मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समिति सदस्य मुकुन्द शाहको अध्यक्षता तथा दुल्लु नगरपालिकाका नगर उपप्रमुख बिना कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बुढाक्षेत्री, शिक्षा शाखा प्रमुख मनराज बुढा, विद्यालयका प्रधानाध्यापक लक्ष्मी थापा, शिक्षक अभिभावक संघका अध्यक्ष अनिलकुमार गिरी, शिक्षक, पत्रकार तथा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मानसिक स्वास्थ्य, मानसिक स्वास्थ्य सम्बन्धी भ्रम तथा लाञ्छना हटाउने र समस्या भएमा खुलेर आफ्ना कुरा व्यक्त गर्नुपर्ने विषयमा सचेतना प्रदान गरिएको हो । दुल्लु नगरपालिकाले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरभित्रका १५ वटा माध्यमिक विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जनाएको छ । विद्यालय परिवार तथा सक्रिय सहभागिता जनाउने विद्यार्थीहरूलाई धन्यवाद दिँदै मानसिक स्वास्थ्य सम्बन्धी भ्रम र गलत धारणाहरू चिर्न सबैलाई आग्रह गरेका छन् ।

