दैलेखमा सवारी चालक र पैदलयात्रीलाई ट्राफिक सचेतना बोर्ड

मातृभूमी संवाददाता । ०२ भाद्र दैलेख
दैलेखमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक सचेतना बोर्ड राखिएको छ । नारायण नगरपालिका ८ स्थित जिल्ला ट्राफिक कार्यालय अगाडि सवारी चालक तथा पैदलयात्रीको जानकारीका लागि सचेतनामूलक बोर्ड राखिएको हो ।
बोर्डमा सवारी चालकले सडकमा पालना गर्नुपर्ने विभिन्न नियम तथा सावधानीका विषयमा समेटिएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख जयसिंह गुरूले जाकारी दिए । विशेषगरी सवारी चलाउँदा हेल्मेटको अनिवार्य प्रयोग, ट्राफिक नियमको पालना, तीव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, पैदलयात्रीलाई प्राथमिकता दिने लगायतका विषयमा चालकलाई सचेत गराइएको उनले बताए ।
त्यस्तै, सडकमा हिँड्ने पैदलयात्रीले पनि सडक पार गर्दा अपनाउनुपर्ने सावधानी तथा ट्राफिक संकेतको पालना गर्नुपर्ने विषय बोर्ड मार्फत जानकारी गराइएको कार्यालय प्रमुख गुरुले बताए । ट्राफिक प्रहरीले यस्ता सचेतनामूलक सामग्रीले चालक तथा सर्वसाधारणलाई सडक सुरक्षा सम्बन्धी नियम सम्झाउन सहयोग पुग्ने जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालयले दैलेखमा सवारी दुर्घटना कम गर्न नियमित रूपमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालयले चालक, यात्रु तथा पैदलयात्री सबैले सडक अनुशासन र ट्राफिक नियमको पालना गरेमा दुर्घटना न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *