दैलेखमा भाइरल ज्वरोको प्रकोप : सिंगो गाउँ नै बिरामी
मातृभूमी संवाददाता । ०२ भाद्र दैलेख
दैलेखको नौमूले गाउँपालिका ३ भाँडेमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँका अधिकांश नागरिकमा खोकी लाग्ने र उच्च ज्वरो आउने समस्या देखिएको स्थानीयले बताएका छन् ।
अहिले गाउँमा भाइरल ज्वरोका बिरामी रहेको स्थानीय अगुवा गङ्गाराम सापकोटाले जानकारी दिए । भाँडे क्षेत्रको ठुलो चम्लाय, निर्गा, भावरसैनी, भित्री खोला लगायतका बस्तीहरूमा ज्वरोका बिरामी बढी देखिएको उनले बताए । एक सातादेखि गाउँमा ज्वरोको समस्या फैलिए पनि हालसम्म नियन्त्रणमा आउन नसकेको स्थानीय सापकोटाले बताए ।
यस्तै स्थानीय भविलाल सुनखरीले आफू पनि विगत पाँच दिनदेखि ज्वरोका कारण थलिएको बताए । भौगोलिक विकटता र गाउँमा रहेको एकमात्र स्वास्थ्य इकाइ बन्द हुँदा झन् सास्ती भएकाे उनको भनाई छ । नागरिक गाउँमै सामान्य उपचार पाउनबाट समेत वञ्चित भएको उनको भनाई छ ।
सामान्य स्वास्थ्य उपचारका लागि पनि स्थानीयबासीलाई नौमूले बजार पुग्न करिब तीन घण्टा र द्वारी स्वास्थ्य चौकी पुग्न झण्डै दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहको नौमूले गाउँपालिका ३ का वडाध्यक्ष नरबहादुर पुरीले बताए । वर्षातका कारण बाटोघाटो हिलाम्मे र कठिन भएकाले बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन निकै समस्या भइरहेको वडाध्यक्ष पुरीले बताए ।
गाउँमा प्रकोप बढेपछि वडाकै अर्को स्वास्थ्य संस्थामा कार्यरत अस्थायी स्वास्थ्यकर्मी वसन्त सापकोटाले बिहान–साँझ प्रभावित क्षेत्रमा पुगेर सिटामोल वितरण गर्दै आउएका छन् । तर, सिटामोल खाए पनि बिरामी निको हुन नसकेको उनले जानकारी दिए ।
गाउँमा ज्वरोका बिरामीको संख्या दिनानुदिन बढे पनि हालसम्म स्वास्थ्य सेवा कार्यालय दैलेख वा प्राथमिक स्वास्थ्य केन्द्र नौमूलेबाट कुनै पनि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुग्न सकेको छैन ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले भाँडे गाउँमा भाइरल ज्वरो फैलिएको जानकारी प्राप्त भएको बताए । उनले बिरामीको उपचार र अवस्था नियन्त्रणका लागि तत्काल स्वास्थ्यकर्मीको विशेष टोली प्रभावित गाउँमा पठाइएको जानकारी दिए ।

