शैक्षिक गुणस्तर सुधारमा युवा सहभागितामा जोड

मातृभूमी संवाददाता । ०३ भाद्र दैलेख
विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक सुशासनमा युवाको सहभागिता बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजना तथा नारायण नगरपालिकाको समन्वयमा दैलेखको नारायण नगरपालिकामा आयोजित सार्वजनिक शिक्षा सम्बन्धी युवा नेतृत्वको मूल्यांकन तथा छलफल कार्यक्रममा सहभागीले युवालाई शिक्षाका उपभोक्ताका रूपमा मात्र नभई नीति निर्माण र शैक्षिक सुधारको साझेदारका रूपमा सहभागी गराउनुपर्ने जोड दिएका हुन् ।
कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले नगरको शिक्षा क्षेत्र सुधारमा शिक्षाका लागि राष्ट्रिय अभियान लगायतका नागरिक समाजसँग निरन्तर सहकार्य भैरहेको बताए । नगरप्रमुख शर्माले आगामी दिनमा शिक्षा क्षेत्रको अनुगमनमा युवाको सहभागिता बढाउने र विद्यालय व्यवस्थापन समितिमा युवा तथा विद्यार्थीको प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरे । गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्थानीय तह, नागरिक समाज र सरोकारवाला संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने नगरप्रमुख शर्माको भनाई थियो ।
अभियान दैलेखका अध्यक्ष भरतराज अधिकारीले नारायण नगरपालिकाभित्रका सबै विद्यालय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा आबद्ध हुनु सकारात्मक पक्ष भएको बताए । विद्यालय सम्बन्धी तथ्यांक अद्यावधिक र पारदर्शी बनाउन प्रणालीमा आबद्धताले सहयोग पुग्ने उनको भनाई थियो । उनले विद्यालयलाई प्रणालीमा दर्ता गर्ने कार्यसँगै अब शैक्षिक उपलब्धि र गुणस्तर सुधारमा पनि समान रूपमा ध्यान दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *