महावुका चार गाउँ ‘जलवायु उत्थानशील गाउँ’ घोषणा
मातृभूमी संवाददाता । ०३ भाद्र दैलेख
दैलेखको महाबु गाउँपालिकाका चार गाउँलाई ‘जलवायु उत्थानशील गाउँ’ घोषणा गरिएको छ । सहास नेपालद्वारा सञ्चालित सीआरभी परियोजना अर्न्तगत महाबु गाउँपालिका ४ का काप्रीखोला र मुखियाडाँडा गाउँ तथा महाबु गाउँपालिका १ का खरिगैरा र कालासिम गाउँलाई जलवायु उत्थानशील गाउँ घोषणा गरिएको हो ।
महाबु गाउँपालिकाको जलवायु उत्थानशील गाउँ निर्देशिका, २०८३ ले निर्धारण गरेका १४ सूचकका आधारमा गरिएको मूल्यांकनमा चारवटै गाउँले ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेपछि मापदण्ड पूरा गरेको भन्दै जलवायु उत्थानशील गाउँ घोषणा गरिएको हो । परियोजना मार्फत जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा उत्थानशील कृषि सम्बन्धी तालिमसँगै प्लास्टिक घरमा बेमौसमी तरकारी खेती, जैविक मल, उन्नत बीउ, नर्सरी, सिँचाइ तथा पानी संकलनजस्ता अभ्यास प्रवद्र्धन गरिएको छ ।
यस्तै सुधारिएको चुलो, पानी फिल्टर तथा मौसम पूर्व सूचना एसएमएस सेवामा समेत सहयोग गरिएको परियोजनाले जनाएको छ । घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले यसको दिगोपनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

